रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

नवलपुर टुडे
२०७९ असार ४ | मध्यान्ह १०:०३ बजे

रुकुम, असार ४ । रुकुम (पश्चिम)को आठबीसकोट नगरपालिका–११ को छोटेटारमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
शनिबार बेलुकी साढे ७ बजे जाजरकोटको भेरी नगरपालिकाको रिम्नाबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको राडीबजार आउँदै गरेको लु १ ज १८९७ नम्बरको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिप चालक बाँफिकोट गाउँपालिका–८ का अन्दाजी २६ वर्षका प्रकाश घर्ती र २४ वर्षीय कविराम विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए । विक अर्को गाडीको सहचालक रहेको बताइएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि आठबीसकोट नगर अस्पतालमा पुर्याइएकोमा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको डिएसपी सोतीले जानकारी दिए । जिप सडकदेखि करिब २ सय मिटर तल भेरी नदीको किनारमा खसेको छ ।





