पूर्वी चितवनमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

नवलपुर टुडे
२०७९ असार ४ | मध्यान्ह १२:०३ बजे

चितवन, असार ४ । पूर्वी चितवनमा ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । जिल्लाको रत्ननगर – ९ गणेश चोक नजिकै शनिबार बिहान ४ः५५ बजेको समयमा ट्रकको ठक्करबाट रत्ननगर – १० का ३७ वर्षीय उमेश दराईको मृत्यु भएको हो ।
टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ना ४ ख २७४८ नम्बरको ट्रकको ठक्करबाट दराई गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको विषयलाई लिएर स्थानीयले सडक अवरोध गरेपछि इलाका प्रहरी कार्यालय टाँडी, खैरहनी, भण्डारा र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले सडकमा अवरोध हटाएको हो ।
ट्रकका चालक मकवानपुरको हेटौँडा – १४ का ४५ वर्षीय धावा थोकरलाई ट्रकसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको प्रहरीले जनाएको छ ।





