तुलसीपुरमा सुस्त मनस्थितिको युवतीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ दुई फरार


दाङ, असार ४ । दाङको तुलसीपुरमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । तुलसी उपमहानगरपालिका – ५ न्युरोडकी २५ वर्षिया युवतीलाई तीनजना युवकले बिहीबार राति सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
बलात्कारमा संलग्न मध्ये तुलसीपुर – ५ बगरपुरका २९ वर्षीय अर्जुन विकलाई बसपार्क प्रहरी चौकीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा बुझाएको छ । इप्रका तुलसीपुरका प्रहरी निरीक्षक बखत शाहीका अनुसार तुलसीपुर ९ का शंकर विक र कान्छी परियार फरार छन् । उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
बलात्कृत युवती सुस्त मनस्थितीकी छन् । ती युवतीलाई ललाइफकाइ गरेर तुलसीपुर- ९ दोघरेस्थित सशस्त्र प्रहरीको बेसक्याम्प नजिकै बन्दै गरेको घरमा बलात्कार गरिएको प्रहरीको भनाइ छ । बलात्कार भएको स्थल सशस्त्र बेसक्याम्पदेखि बढीमा ३०० मिटरको दुरीमा छ ।





