देश

    ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता

    नवलपुर टुडे
    २०७९ असार २ | मध्यान्ह १२:०३ बजे

      काठमाडौं, असार २ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) एक आपसमा गाभिनका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । बिहीबार बिहान होटल याक एन्ड यतीमा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले मर्जरसम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

      मर्जरपश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यसैगरी, बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ ।

      ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्यांकनबाट सिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोहीअनुसार समायोजन हुने गरी हाललाई १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ ।

      २१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा ‘क’ वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् । मर्जरपश्चात् बैंकको कुल पुँजीकोष ५२ अर्ब २९ करोड, चुक्ता पूँजी ३४ अर्ब ४१ अर्ब करोड, कुल निक्षेप ३ खर्ब ८४ अर्ब, कुल कर्जा ३ खर्ब ८० अर्बसहित कुल पंँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक हुनेछ ।

      साथै, दुवै बैंकले जेठ मसान्तसम्ममा ६ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन् । दुई बैंकहरूको ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरू, ३७ लाखभन्दा बढी ग्राहकहरूसहित अन्य धेरै वित्तीय परिसूचकहरूमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ ।

      साथै, बैंकले वित्तीय क्षेत्रमा नयाँ अवसरहरू ल्याई ग्राहक, सेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सरोकार राख्नुहुने सबैको हितलाई ध्यानमा राखी बैंकले कार्य सम्पादन गर्ने दुवै बैंकका सञ्चालक समिति अध्यक्षहरूले सयुंक्तरूपमा प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले नेपालको बैंकिङ इतिहासमा एउटा ऐतिहासिक कार्य भएको बताए । ग्लोबल आइएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरू परिपालनामा सधैँ पहिलो हुने गरेको बताउँदै तदनुरूप यो मर्जरको समझदारीपत्रमा हस्ताक्षर गरिएको उनले बताए ।

      उनले मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सबै हिसाबले सर्वोकृष्ट बैंक बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे । बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले बैंकिङ क्षेत्रमा आजको दिन सधैँ संस्मरणमा रहने बताए । उनले मर्ज हुनु प्राकृतिक प्रक्रिया रहेको तर मर्जरपछि बन्ने बैंक कस्तो बन्छ भन्ने मूल विषय रहेको बताए । नयाँ बैंकले नेपालको बैंकिङ क्षेत्रमा ठूलो सफलता हासिल गर्नेमा उनले विश्वास व्यक्त गरे ।

        कमेन्टहरु