देश, बागमती प्रदेश

    बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    नवलपुर टुडे
    २०७९ जेष्ठ ३१ | बिहान ०९:०२ बजे

      हेटौडा । बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ। बैठक मंगलबार दिउँसो २ बजे बस्ने तय भएको हो ।

      आज बस्ने बैठकका लागि सोमबार बसेको प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले ६ वटा कार्यसूची तय गरेको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार मंगलबारको बैठकमा केही प्रतिवेदन पेश हुनेछ भने आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण प्रस्तुत हुनेछ ।

      बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७/०७८ को वार्षिक प्रतिवेदन, प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायणबहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशवप्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले आफ्नो समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको सचिव खड्काले बताए ।

      त्यस्तै बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक सर्वेक्षण २०७९/०८० पेश गर्नेछन् । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७९र०८० को बजेट असार १ गते ल्याउने तयारी गरेको छ ।

      भोलि अपरान्ह ४ बजे बस्ने बैठकमा सरकारको बजेट सार्वजनिक गरिने छ । उक्त बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री जम्मकट्टेलले सरकारको विनियोजन विधेयक, खर्च र आम्दानीको क्षेत्र, राजस्व नीति प्रस्तुत गर्ने छन् ।

        कमेन्टहरु