भारतबाट अवैध रुपमा ल्याउँदै गरेको ११३ वटा कछुवासहित एक जना पक्राउ

नवलपुर टुडे
२०७९ जेष्ठ ३० | मध्यान्ह ०५:०२ बजे

बुटवल, जेष्ठ ३० । छिमेकी राष्ट्र भारतबाट अवैध रूपमा कछुवा ल्याउदै गरेका एक जनालाई पर्सा प्रहरीले सोमबार वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्ने बाराको कलैया उपमहानगरपालिका–७ का ४५ वर्षीय आनन्दलाल टेमानी रहेका छन् ।
अस्थायी प्रहरी पोस्ट इनर्वाबाट खटिएको टोलीले भारतको रक्सौलबाट वीरगन्ज–१६ इनर्वा गाउँको बाटो हुँदै आउँदै गरेको बीआर ०५ एएफ ०५८३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा टेमानीको मोटरसाइकलको डिक्कीभित्र हरियो रंगको झोलामा लुकाइछिपाई राखेको १ सय १३ वटा कछुवा बरामद भएको हो ।
मोटरसाइकल र कछुवासहित उनलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय वीरगन्जमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।





