काँडाघारीमा चक्कुले घाँटी रेटेर आत्महत्या गर्ने प्रयास


काठमाडौं, जेठ ३० । काठमाडौंको काँडाघारीमा एक युवकले आफ्नै घाँटी रेटेर आत्महत्या गर्ने प्रयास गरेका छन् । काँडाघारीस्थित ढुंगेधारामा बस्दै आएका ओखलढुंगाको चम्पादेवी नगरपालिका–४ का २८ वर्षीय गणेश कार्कीले चक्कुले घाँटी रेट्ने प्रयास गरेका हुन् ।
दम्पतीको बीचमा विवाद हुँदा कार्कीले आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । प्रहरी प्रभाग काँडाघारीको टोलीले उद्दार गरेर उनलाई अस्पताल पठाएको छ । चक्कुले काटेर उनको घाँटीको अगाडीको भागमा चोट लागेको छ । पत्नीले उनलाई ट्रमा सेन्टरमा उपचार गराइरहेकी छिन् ।
पति पत्नी बीचको विवाद धेरै पटकसम्म प्रहरी समक्ष पुगेको थियो । प्रहरीले उनीहरुलाई पटक–पटक सम्झाएर फर्काउने गरेका थिए । ३ दिनदेखि घर नगएका गणेशले आइतबार राति आफू बस्ने १ तले टहरोमा आत्महत्या प्रयास गरेका हुन् । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





