काठमाडौंको गोकर्णेश्वरमा शौचालय जाने क्रममा लडेर एक महिलाको मृत्यु


काठमाडौं, जेठ २९ । काठमाडौंको गोकर्णेश्वरमा शौचालय जाने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ ।
शनिबार बेलुकी साढे ८ बजे गोकर्णेश्वर नगरपालिका – ४ उत्तरबाहिनीमा जग्गा भाडामा लिई टहरामा बस्दै आएका रामेछाप उमाकुन्ड गाउँपालिका-५ का ४९ वर्षीया सुशीला खड्काको लडेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार गएराति उनी शौचालयमा जाँदा लडेर बेहोस अवस्थामा फेला परेकी थिइन् । उनकी बहिनी वर्षा सुनवारले लडिरहेको अवस्थामा फेला पारेपछि अस्पताल लगिएको थियो ।
सुशीलालाई उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक मैनालीले जानकारी दिए । मृत्यु भएको खबरपछि प्रहरी निरीक्षक विशाल तामाङको कमान्डमा सात जनाको टोली परिचालन भएको थियो ।
खड्काको आफन्त नआएपछि शव नेपाल मेडिकल कलेजमै राखिएको छ । प्रहरी वृत्त बौद्धद्वारा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।





