न्युरोडको रन्जना गल्लीमा एक पुरुषको शव फेला

नवलपुर टुडे
२०७९ जेष्ठ २५ | मध्यान्ह १२:०२ बजे

काठमाडौं, जेठ २५ । काठमाडौंको न्युरोडस्थित रन्जना गल्लीमा एक पुरुषको शव भेटिएको छ । टेकु घर भएका ३४ वर्षीय सुरेन महर्जनको शव भेटिएको हो ।
बुधबार बिहान साढे ६ बजेतिर एक पुरुष लडेर अचेत अवस्थामा रहेको भन्ने खबर महानगरीय अपराध महाशाखा काठमाडौंलाई प्राप्त भएपछि कार्यालयबाट प्रहरी टोली खटाइएको थियो । घटनास्थलमा गएर बुझ्दा ति युवक मृत रहेका महानगरीय अपराध महाशाखाले जनाएको छ ।
उपत्यका अपराध महाशाखाको प्रहरी टोली र तालिम प्राप्त कुकुरसहित अनुसन्धान प्रहरीको टोली पुगेर घटनास्थल एवम् शवको जाँच गरी मुचुल्का उठाएर पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा पठाइएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ ।





