सुर्खेतमा चार दिनदेखि हराएका ७ वर्षीय बालिका मकै बारीमा मृत फेला


सुर्खेत, जेठ २५ । सुर्खेतमा चार दिनदेखि हराइएकी एक बालिका मृत फेला परेकी छिन् । जिल्लाको गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी अन्दाजी ७ वर्षीय ग्रीस्मा विक मकै बारीमा मृत अवस्थामा फेला परेकी हुन् ।
नेपाली काँग्रेसको वडा नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा शनिवार हजुरआमासँगै सहभागी भएकी विक सोही दिनदेखि हराएको खबर आफन्तले प्रहरीलाई दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनकाअनुसार बालिकाको शव विकको घरदेखि एकसय मिटरको दुरीमा मंगलबार बिहान फेला परेको हो ।
आफन्तले शुरुमा बालिका अन्य आफन्तको घर गएको हुनसक्ने अनुमान गरेपनि खोज्दै जाँदा नभेटिएपछि सोमबार मात्रै प्रहरीलाई खबर गरेको गुर्भाकोट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लालबहादुर पुनले बताए । घटनाबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थल पुगेको छ ।
बालिकाको मृत्युको कारण नखुलेपछि घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।





