चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

नवलपुर टुडे
२०७९ जेष्ठ २४ | मध्यान्ह ०९:०२ बजे

चितवन, जेठ २४ । चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिक घैलाघारी मध्यवर्ती सामुदायिक वनमा मंगलबार दिउँसो बाघको आक्रमणमा परेकी भरतपुर महानगरपालिमा-२३ घैलाघारीकी अन्दाजी ५० वर्षीया मंगली बोटेको ज्यान गएको हो ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार बोटे अन्य तीन जना साथीहरूसँग निउरोको साग टिप्न वनमा गएकी थिइन् । दिउँसो ४ बजेतिर मंगलीलाई बाघले आक्रमण गरेर जंगलभित्र लगेको सँगै गएका साथीहरूले प्रहरीलाई खबर गरेका थिए ।
खबर प्राप्त हुनासाथ कसराबाट चारवटा हात्तीसहित सेनाको टोली र गीतानगरको इलाका प्रहरी कार्यालयको टोलीले खोजीकार्य गरेको थियो । साँझ करिब साढे ८ बजे मंगलीको शव फेला परेको डिएसपी अधिकारीले जानकारी दिए ।





