देश

    दोलखामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    नवलपुर टुडे
    २०७९ जेष्ठ २२ | मध्यान्ह १२:०२ बजे

      चरीकोट । दोलखाको चरीकोट जिरी सडकखण्डमा गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । भीमेश्वर नगरपालिका वडा नं ४ अनाथालय नजिकै विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई योद्धा गाडीले ठक्कर दिँदा सोही वडाका ३३ वर्षीय मोटरसाइकल चालक उमेश श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

      चरीकोटबाट तामाकोसीतर्फ जाँदै गरेको प्रदेश नं ३-०१०२४ च ५९१९ नं को योद्धा गाडी रजिलुबाट चरीकोट आउँदै गरेको बा. ७५ प ४५२१ नं को मोटरसाइकलसँग ठोक्किएको थियो । घाइते भएका श्रेष्ठलाई चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा पुर्‍याइएको र उपचारका क्रममा उनलाई मृत घोषणा गरिएको थियो ।

      गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले बताए । मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ । रासस

        कमेन्टहरु