मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका राप्रपाका नेता श्रेष्ठको उपचारका क्रममा मृत्यु

नवलपुर टुडे
२०७९ जेष्ठ २२ | बिहान ११:०२ बजे

काठमाडौं, जेठ २२ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका राप्रपा खोटाङका निवर्तमान अध्यक्ष जीवनकुमार श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ । उनको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्क जिरो प्वइन्टबाट बजारभित्र जाँदै गरेको प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले श्रेष्ठलाई सपिङ कम्प्लेक्स अगाडि सडक छेउमा ठक्कर दिएको थियो । तीव्र गतिमा पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि श्रेष्ठको टाउको र छातीमा चोट लागेको थियो ।
उनी हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका उम्मेदवार थिए । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले उनको निधनबाट पार्टीलाई ठूलो क्षति भएको जनाएका छन् ।





