देश

    मोटरसाइकलको ठक्करबाट राप्रपा खोटाङका निवर्तमान अध्यक्ष श्रेष्ठ गम्भीर घाइते

    नवलपुर टुडे
    २०७९ जेष्ठ २१ | बिहान ०७:०२ बजे

      खोटाङ, जेठ २१ । मोटरसाइकलको ठक्करबाट राप्रपा खोटाङका निवर्तमान अध्यक्ष जीवनकुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् । प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा श्रेष्ठ गम्भीर घाइते भएका हुन् ।

      दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्क जिरो प्वइन्टबाट बजारभित्र जाँदै गरेको मोटरसाइकलले श्रेष्ठलाई सपिङ कम्प्लेक्स अगाडि सडक छेउमा ठक्कर दिएको थियो । तीव्र गतिमा पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि श्रेष्ठको टाउको र छातीमा चोट लागेको थियो ।

      उनलाई उपचारका लागि हेलिकोप्टरमार्फत न्युरो अस्पताल बाँसबारी लगिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले बताए । उनी हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका उम्मेदवार थिए ।

      राप्रपाका जिल्ला अध्यक्ष ललित राईका अनुसार श्रेष्ठको अवस्था चिन्ताजनक रहेको छ । मोटरसाइकलमा सवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी ४८ वर्षीय विष्णुकुमारी राई पनि घाइते भएकी छन् ।

        कमेन्टहरु