श्रीमतीलाई औषधी लिन निस्किएका साहको शव इनारमा फेला


सिरहा, जेठ १९ । सिरहाको गोलबजार नगरपालिका – २ टुड्कियाका ज्ञानचन्द्र भनेर चिनिने विष्णुदेव साहको शव इनारभित्र फेला परेको छ । श्रीमतीको औषधी लिन भनी मंगलबार अपरान्ह घरबाट निस्केका ४८ वर्षीय साहको शव आज बिहान गाउँकै इनारभित्र फेला परेको हो ।
औषधी लिएर तुरुन्तै फर्किहाल्छु भन्दै साइकलमा लिएर हिडेका उनी राती अबेरसम्म घर नफर्किएपछि खोजतलास सुरु गरिएको थियो । बिहीबार बिहान गाउँ नजिकैको इनारभित्र साइकलसहित उनको शव फेला परेको प्रहरीले जनाएको छ । इनारभित्रबाट शव बाहिर निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुभाष बुढाथोकीले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीको भनाइ छ । मृतकका श्रीमती शिवोदेवी साहले भने रिसिबीका कारण उनको हत्या भएको आरोप लगाएकी छिन् । उनले गाउँकै केही व्यक्तिले बाटो बनाउने विवादमा विष्णुदेवलाई मारिदिने धम्की दिँदै आएको बताइन् । साह एक महिना अघिमात्र वैदेशिक रोजगारीबाट घर फर्किएका थिए ।
गाउँका स्थानीयवासीसँग उनको आरसीसी ढलान गर्ने विषयमा विवाद हुँदै आएको बताइएको छ ।





