देश

    काठमाडौंलाई देशको मात्र नभएर विश्वकै नमूना सहर बनाउने बालेन शाहको प्रतिबद्धता

    नवलपुर टुडे
    २०७९ जेष्ठ १३ | बिहान ०९:०२ बजे

      काठमाडौं, जेठ १३ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले काठमाडौंलाई देशको मात्रै नभएर विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता गरेका छन् ।

      मेयरमा निर्वाचित भएलगत्तै शाहले आफूले निर्वाचनको परिणामलाई एउटा सुरूआतको रूपमा लिएको बताएका छन् । ‘आजबाट हामीले एउटा सुरूआतको रूपमा लिएका छौं । निर्वाचनको परिणाम जुन आएको छ । यसलाई हाम्रो विजय भन्दा पनि हाम्रो कार्यको सुरूआत हुनेछ’, उनले भने, ‘अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने हाम्रो धारणा रहेको छ ।’

      उनले काठमाडौं महानगर एउटा परिवारको रूपमा रहेको बताएका छन् । ‘काठमाडौं महानगर परिवारको रूपमा रहेको छ । सधै परिवार नै थियो र परिवारनै रहनेछ’ उनले भने, ‘हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेका छौं ।’

      स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन शाहले ६१ हजार ७ सय ६७ मत ल्याएर निर्वाचित भएका हुन् । यो मेयर पदमा खसेको कुल सदर मतको ३८.६३ प्रतिशत हो । उनले नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई हराएका हुन् । सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी सिंहले ३८ हजार ३४१ मत ल्याएकी छिन् भने एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका छन् ।

      यस्तै काठमाडौ महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भइकी छिन् । उनी ६८ हजार ६१२ मतका साथ विजयी भएकी हुन् ।

        कमेन्टहरु