गण्डकी प्रदेश

    पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न माग

    नवलपुर टुडे
    २०७९ जेष्ठ १३ | बिहान ०८:०२ बजे

      पोखरा, जेठ १३ । पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले बिहीबार पदवहाली गर्दै तीन निर्णय गरेका छन् । पर्यटकीय नगरी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणाका लागि नेपाल सरकार मन्त्रिपरिषद्समक्ष सिफारिसका लागि अनुरोध गर्ने उनको पहिलो निर्णय हो ।

      पर्यटकीय राजधानी घोषणाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरिएको प्रमुख आचार्यले जानकारी दिए । उनले भने, ‘संघीय सरकारको मन्त्रिपरिषद्बाट पर्यटकीय राजधानी घोषणा गराउनका लागि हामीले यहाँ औपचारिक निर्णय गरेर सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेका छौँ । यस निर्णय कार्यान्वयन नहुँदासम्म तदारुकताकासाथ पछि लाग्ने छौँ र कार्यान्वयन गरी छाड्ने छौँ ।’

      यस विषयमा पटक–पटक चर्चा र प्रतिबद्धता संघीय सरकारका मन्त्रीहरूबाट भए पनि कार्यान्वयनमा नगएकाले विधिपूर्वक निर्णय गरेर पठाएको आचार्यले बताए । यसैगरी प्रमुख आचार्यले विपन्न परिवारका बच्चाहरूका लागि पोषण भत्ता उपलब्ध गराउने निर्णय गरेका छन् । वडा कार्यालयहरूबाट प्राप्त भएको सिफारिसका आधार गरिब र विपन्न परिवारका बच्चाका लागि सो रकम उपलब्ध गराइने निर्णय छ ।

      यस्तै प्रमुख आचार्यले पोखराको मौलिक पहिचान झल्कने ‘पोखरा स्मारक’को थ्रीडीसहितको डिजाइन बनाई पेश गर्नेसम्बन्धी प्रस्ताव आह्वान गर्ने निर्णय गरेका छन् । विश्वका अधिकांश सहरमा आफ्नो अपनत्व महसुस हुने प्रतीक रहेकाले सोहीअनुसार पोखरा चिनाउने प्रतीक बनाउनका लागि देशभरिका सिर्जनात्मक क्षमता भएका युवाका लागि प्रस्ताव आह्वान गरेर एक महिनाभित्र खरिद प्रक्रिया अघि बढाइने प्रमुख आचार्यले बताए ।

      उनका अनुसार प्रतिस्पर्धाबाट प्रतीक छनोट गरी विजेता हुनेलाई दुई लाख पुरस्कार प्रदान गरिनेछ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले पनि पदबहालीसँगै महानगरका अपाङ्ग बालबालिकालाई शिक्षामा समान पहुँच स्थापित गर्ने कार्यक्रम सञ्चालनसम्बन्धी निर्णयमा हस्ताक्षर गरेकी छिन् ।

        कमेन्टहरु