तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका खाण र उपमेयरमा एमालेकी चौधरी


बुटवल, जेठ १३ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण खाण विजयी भएका छन् ।
सत्ता गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार खाणले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंलाई ७६५ मतान्तरले पराजित गरेका हुन् । खाणले २४३९६ मत ल्याउदा चापागाईंले २३ हजार ६३१ मत ल्याए । खाण नेपाली कांग्रेस रूपन्देहीका सभापतिसमेत हुन् ।
यस्तै उपमेयरमा भने एमालेकी उम्मेदवार जगेश्वरीदेवी चौधरी विजयी भएकी छिन् । एमाले रूपन्देहीकी उपाध्यक्षसमेत रहेकी चौधरीले आफ्ना निकटतम् प्रतिद्वन्द्वी माओवादी कन्द्रका हेमलाल पाण्डेलाई दोब्बरभन्दा धेरै मतले हराइन् । चौधरीले २३८६ मत पाउँदा माओवादी केन्द्रका पाण्डेले ११५४६ मत पाए ।
१७ वडा रहेको तिलोत्तमामा एमालेले ८ र नेपाली कांग्रेसले ९ वटा वडा जितेको छ । कुल मतदाता ८५ हजार सात सय ४७ रहेकामा निर्वाचनमा ६३ हजार ५८८ मत खसेको थियो ।





