ऐतिहासिक जितपछि विधि विधान अनुसार कार्यालय प्रवेश गर्दै


विनोद मण्डल
सिरहा, जेठ १२ । स्थानीय निर्वाचनको चुनावी परिणाम सकारात्मक आएपछि सिराहाको धनगढीमाई १४ मा धार्मिक विधि बिधानलाई जोड दिइएको छ ।
सिराहाको साविक गाउँविकास समिति बिष्णुपुरकट्टी ३ सररे खोला तत्कालीन कम्युनिस्ट पार्टीको लाल किल्ला भनेर चिनिदै आएको थियो । विगत लामो समयदेखि यस क्षेत्रमा कम्युनिस्टहरुले आफ्नो वर्चस्व कायम राख्दै आएको थियो । तर स्थानिय निर्वाचनको मत परिणामबाट कम्युनिस्ट पार्टी अन्तर्गत एमाले कांग्रेसबाट पराजित भएपछि हिन्दु धर्म संस्कृति अनुसार शुक्रवार बिहान करिब ७ बजेको समयमा धार्मिक बिधि बिधान अनुसार कार्यालय परिसरमा पूजा आजा गरी नवनिर्वाचित अध्यक्ष अमित ठकुरी लगायत वडा सदस्यहरू कार्यालय प्रवेश गर्न लागेको कांग्रेस पार्टीले जनाएको छ ।
धनगढीमाई नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई यस अघिनै सपथ ग्रहण र प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।
सपथ ग्रहण कार्यक्रम पछि नगरका अधिकांश वडा अध्यक्षहरुले कार्यालय उक्त दिनमै प्रवेश गरिसकेका छन् तर वडा अध्यक्ष अमित ठकुरीको जीत ऐतिहासिक भएकोले र ठकुरी आफै दूरदर्शी भएकोले सामाजिक मर्यादा भित्र रहेर समाजमा असल नेतृत्व गर्नको लागि धार्मिक वल समेत आवस्यक पर्ने भएकोले बिधि बिधान अनुसार कार्यालय प्रवेश गर्न लागेको पार्टीका युवा नेता सञ्जीव बुढाथोकीले जनाएका छन् ।
कार्यक्रममा पन्चकन्यालाई कार्यालय परिसरमा पूजा आजा गराई वडाको कार्यभार सम्हाल्ने स्रोतले जनाएको छ भने कार्यालय प्रवेशको सबै तयारी पूरा भएको उक्त पार्टीले जनाएको छ ।





