गोलबजार नगरपालिकाको मेयर उपमेयरमा एमाले विजयी


सिरहा । सिराहाको गोलबजार नगरपालिकाको मेयर उपमेयर दुवै पदमा एमाले विजयी भएको छ । निर्वाचन अधिकृतको कार्यालय गोलबजारका अनुसार सोमबार राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार मेयर पदमा एमालेका श्यामकुमार श्रेष्ठले सात हजार नौ सय आठ मतसहित निर्वाचित भएका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी निवर्तमान मेयर समेत रहेका नेकपा माओवादी केन्द्रका देवनाथ साहले पाँच हजार सात सय एक मत प्राप्त परी पराजित भए । त्यस्तै, उपमेयर पदमा निर्वाचित एमालेकी मान्ती साहले सात हजार सात सय तीन मत प्राप्त गरेकी छिन् भने निकटतम् प्रतिद्वन्द्वी निवर्तमान उपमेयर समेत रहेकी माओवादी केन्द्रकी रेशमकुमारी थापाले पाँच हजार छ सय ४३ मत प्राप्त गरेकी छिन् ।
कुल १३ वटा वडा रहेको गोलबजारमा मेयर उपमेयरसहित एमालेले २, ६, ७, ८, १०, १२, कांग्रेसले ४, ५, १३, माओवादी केन्द्रले १ र ३ तथा जसपा नेपालले ९ र ११ नं. वडामा जित निकालेको छ ।





