विजय उत्सव मनाउन गाउँपालिकाभर सार्वजनिक बिदा


सप्तरी, जेठ ९ । सप्तरीको रुपनी गाउँपालिकाले नवनिर्वाचित जनप्रतिनिधिहरूको विजय उत्सव मनाउन आज सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिका कार्यालयले नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशमा गाउँपालिकाभर नै सार्वजनिक बिदा दिइएको हो । रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दकुमार चौधरीले सोमबार बिहान एक सूचना प्रकाशित गर्दै भने,‘गाउँपालिकामा आज बिदा गरिएको सत्य हो, अध्यक्षले आदेश दिएपछि मान्नै पर्यो ।’
‘विजय उत्सव मनाउने प्रयोजनका लागि रुपनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष यादवको आदेशानुसार गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय, संघसंस्था, शिक्षण संस्था, स्वास्थ्य संस्थालगायत सम्पूर्ण कार्यालयहरू बन्द गरिएको छ ।’ प्रकाशित सूचनामा उल्लेख छ । यादवले सोमबार दिउँसो शपथ ग्रहण कार्यक्रम गरिने बताए ।
लोसपाले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र एउटा वडा अध्यक्षमा जीत हासिल गरेको छ । निवर्तमान अध्यक्ष जसपाका हरेराम यादलाई पराजित गरी दिनेशकुमार यादव अध्यक्षमा र निवर्तमान उपाध्यक्ष जसपाकै बेचनीदेवी सरादारलाई पराजित गरी लोसपाकै पुष्पाकुमारी श्रेष्ठ उपाध्यक्षमा विजयी भएकी हुन् ।
कुल ६ वडा रहेको गाउँपालिकामा लोसपाले एउटा वडा अध्यक्ष मात्र जितेको छ । बाँकी माओवादी केन्द्र र जसपाले २-२ तथा कांग्रेसले १ वडा अध्यक्षमा विजयी हासिल गरेको छ ।






