धरानका उपमहानगरका नवनिर्वाचित मेयर हर्क साम्पाङले लिए शपथ


सुनसरी, जेष्ठ ९ । सुनसरीको धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज साम्पाङ राईले सोमबार शपथ ग्रहण गरेका छन् । उनी शपथ लिनका लागि इनरुवा पुगेका छन् ।
जिल्ला निर्वाचन प्रमुख अधिकृतसमेत रहेका सुनसरी जिल्ला अदालतका १ नम्बर न्यायाधीश कैलाश सुवेदीले साम्पाङलाई शपथ ग्रहण गराएका हुन् । अब धरान प्रमुख साम्पाङले उपप्रमुखसहित वडाबाट निवार्चित जनप्रतिनिधिहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । धरानमा मेयर, उपमेयरसहित १०२ जना जनप्रतिनिधि निवार्चित भएका छन् ।
स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिएका साम्पाङले दलीय उम्मेदवारहरुलाई पराजित गर्दै विजयी भएका हुन् । धरानको चुनावी राजनीतिक इतिहासमा एमाले, कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धन दलका उम्मेदवारलाई पराजित गर्दै पहिलो पटक साम्पाङले स्वतन्त्र उम्मेदवारीमार्फत प्रमुख पदमा विजयी भएका हुन् ।
उनले सडकमा एक्लै संघर्ष र आन्दोलन गरेर सरोकारवालालाई प्रश्न गर्दै सुशासन र पारदर्शिता देखाउन दबाब दिँदै आएका थिए ।





