मुख्य समाचार

    उजुरीको हदम्यादका कारण बलात्कारीले उन्मुक्ति नपाउन् : नेता पौडेल

    नवलपुर टुडे
    २०७९ जेष्ठ ६ | मध्यान्ह ०२:०२ बजे

      काठमाडौं, जेठ ६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेलले बलात्कार मुद्दामा उजुरीको हदम्याद तोकिने व्यवस्थालाई हटाउन माग गरेका छन् ।

      सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता पौडेलले बलात्कारका पुराना घटनाको उजुरी नलिँदा पीडितले हरेस खाने तथा अपराधीले सहजै उन्मुक्ति पाउने अवस्था आउन नहुनेमा जोड दिएका हुन् । उनले बलात्कार जस्ता अपराधमा उजुरीका लागी समयसीमाको हदम्याद तोकिन नहुने उल्लेख गरेका छन् ।

      पौडेलले ट्विटरमा लेखेका छन्, ‘मुलुकी अपराध संहिता २०७४, बालबालिकासम्बन्धी ऐनमा बलात्कार कसुरबारे उजुरीको हदम्याद तोकेको छ। पीडितहरू प्रताडनाबाट गुज्रने गरेको पाइएको छ। बलात्कारका पुराना घटनाको उजुरी नलिँदा पीडितले हरेस खाने तथा अपराधीले सहजै उन्मुक्ति पाउने अवस्था छ। यस्ता अपराधमा समयसीमाको हदम्याद तोकिनुहुन्न ।’

      केही दिनअघि मात्रै एक किशोरीले सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट आफू बलत्कृत भएको घटना सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा बलात्कारका मुद्दामा उजुरीको हदम्याद तोकिने व्यवस्थाको चर्को विरोध भइरहेको छ ।

        कमेन्टहरु