नेपालगन्ज उपमहानगरको प्रमुखमा काँग्रेस र उपप्रमुखमा जसपा विजयी


बुटवल, जेठ ६ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्ट विजयी भएका छन् ।
विष्टले २३ हजार ४६० मत ल्याएर उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उमेदवार पशुपतिदयाल मिश्रालाई पराजित गरेका हुन् । मिश्राले ११ हजार ६७५ मत प्राप्त गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) छाडेर राप्रपा प्रवेश गरी उमेदवार बनेका नन्दलाल वैश्य सात ५९८ मतका साथ तेस्रो स्थानमा रहेका छन् । विजय भएको आधिकारिक घोषणा हुन भने बाँकी छ ।
यस्तै उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का उमेदवार कमरुद्दीन राई विजयी भएका छन् । उनी १७ हजार ९५० मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्ति ढकालले १० हजार ९१५ मत पाएकी छन् ।
राप्रपाकी विन्दु चर्तिमगरले १० हजार १३५ मत ल्याएकी छन् । अघिल्लो निर्वाचनमा नेपालगन्जमा राप्रपाले जित निकालेको थियो ।





