पल शाहको मुद्दाको सुनुवाइ स्थगित, अर्को साता सुनुवाइ हुने


पोखरा, जेठ ५ । अभिनेता पल शाहसँग जोडिएको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।
एक नाबालिकाले आफुलाई अभियुक्त शाहले जबरजस्ती करणी गरेको भन्दै दायर गरेको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थागित भएको उच्च अदालत पोखराका रजिस्टार श्रीलाल पौडेलले बताए । उनका अनुसार अब अर्को हप्ता बिहीबार यो मुद्दामा सुनुवाइ हुनेछ ।
‘शाहकै वकिल देवेन्द्रनाथ खनालले सुनुवाइ हटाउनु भएको रहेछ, अर्को हप्ता फेरि सुनुवाइ हुनेछ’ उनले भने । उक्त मुद्दा न्यायाधीशद्वय डिल्लीराम आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासमा परेको थियो ।नाबालिग बलात्कारको अभियोगमा शाहलाई तनहुँ र गैंडाकोट अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
उक्त आदेशविरुद्ध शाहले उच्च अदालत, पोखरामा निवेदन दिएका थिए । शाहका म्यानेजर कृष्ण जोशीलाई अदालतले धरौटीमा छाड्न दिएको आदेशविरुद्ध पनि सरकारी पक्षले उच्च अदालतमा निवेदन दिएको छ ।





