सिरहाको सिरहा नगरपालिका र कर्जन्हा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी


सिरहा । सिरहाको सिरहा नगरपालिका र कर्जन्हा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
सिरहा नगरपालिकाको प्रमुखमा डा. नवीन यादव ११ हजार १४३ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले भने आठ हजार ७३२ मत प्राप्त गरेका थिए । यस्तै, उपप्रमुखमा बबिताकुमारी साहले १० हजार १२६ मत ल्याएर निर्वाचित भएकी छिन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी सरिता यादवले आठ हजार ५७७ मत प्राप्त गरिन ।
त्यसैगरी कर्जन्हा नगरपालिकाको प्रमुखमा भोलाप्रसाद पोखरेल तीन हजार ८३९ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका केशवप्रसाद साहले तीन हजार २२३ र नेकपा (माओवादी)का गङ्गा पासवानले दुई हजार ४८२ मत प्राप्त गरेका थिए ।
उपप्रमुखमा भने जनता समाजवादी पार्टीका उम्मेदवार लक्ष्मीकुमारी श्रेष्ठले तीन हजार ४८७ मत ल्याएर विजयी भएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेका निर्मला कुमारीदेवी पासवानले भने तीन हजार ९५ मत प्राप्त गरेका थिए ।





