गणतन्त्र दिवस तीन दिनसम्म कार्यक्रम गरी भव्य रूपमा मनाइने


काठमाडौं, जेठ ५ । सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको ‘गणतन्त्र दिवस २०७९’ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म कार्यक्रम गरी भव्य रूपमा मनाउने निर्णय गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले यही जेठ १४, १५ र १६ गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो । जेठ १४ गते साँझ संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा एवं ब्यानर सजाइ साँझ दीपावली गर्ने र आम नागरिकलाई दीपावली गर्न अनुरोध गर्ने छ ।
१५ जेठमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गरी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा औपचारिक मूल समारोह गरिने सदस्य सचिवसमेत रहेक्स्स गृहसचिव टेकनारायण पाण्डेले जानकारी दिए । सोही दिन साँझ आम नागरिक र सरकारी तथा सार्वजनिक कार्यालयहरूले आ–आफ्नो घर, कार्यालय एवं सार्वजनिक स्थलहरूमा दीपावली गर्ने कार्यक्रम तय भएको छ ।
यस्तै १६ जेठमा रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट जागरण गीत प्रसारण गर्ने तथा देशवासी र सरकारी तथा सार्वजनिक निकायहरूले आ–आफ्नो घर, कार्यालय एवं सार्वजनिक स्थलहरूमा साँझ दीपावली गर्ने कार्यक्रम तय भएको छ । विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासहरूमा भने राष्ट्रिय झण्डा फहराउने र दीपप्रज्वलन गर्ने निर्णय मूल समारोह समितिले गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा नेपाल सरकारका मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, प्रधान सेनापति विशिष्ट श्रेणीका राजपत्राङ्कित कर्मचारीहरू र सुरक्षा निकायका प्रमुखहरूलगायत रहने गरी मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समितिबाट प्रचार प्रसार, मञ्च सजावट तथा व्यवस्थापन, ग्राउन्ड कवाज एवं व्यायाम व्यवस्थापन उपसमिति पनि गठन गरिएको छ ।





