सिरहाको धनगढीमाई नगरपालिकामा पुन मतगणनाका लागि निवेदन


विनोद मण्डल
सिरहा, जेष्ठ ४ । सिरहाको धनगढीमाई नगरपालिकामा मत परिणाम घोषणा भएसँगै मत गणनाको पुन माग गर्दै निर्वाचन कार्यलय धनगढीमाईमा निवेदन परेको छ । स्थानिय निर्वाचन धनगढीमाई वडा नं ३ मा पोलिङ मत २२५३ लाई पुनः गणनाको माग राख्दै एमालेका पराजित उम्मेदवार देव कुमार शाहले निवेदन दिएका हुन् ।
एमालेको करिब ४ सदर मतलाई बदर गरेको शाहको आरोप छ । धनगढीमाई वडा नं ३ मा माओबादी केन्द्रका वीरेन्द्र कुमार शाह झिनो मत अन्तरले विजयी भएका थिए । मत गणनामा व्यापक हेलचेक्राइँ भएको आरोप लगाउँदै शाहले तत्काल निर्वाचन कार्यालय धनगढीमाई सिरहाले निर्णय नलिएको खण्डमा अदालत जाने बताए ।
निवेदन दर्ताको लागि गएका शाहको निवेदन निर्वाचन आयोगले तोकेको ढाँचामा नभएकोले निर्बाचन अधिकृत महेन्द्र महतोले निवेदनको ढाँचा उपलब्ध गराइएका छन् । माओवादी केन्द्रबाट धनगढीमाई ३ मा विजय भएका वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले विजय जुलुस निकालेका छन् ।





