पोखरा महानगरपालिकाको मतगणना भोलि बिहानदेखि हुने


कास्की । पोखरा महानगरपालिकाको मतगणना भोलि बिहानबाट हुने भएको छ । मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईका अनुसार शुक्रबार बेलुका अबेरमात्रै सबै वडाका मतपेटिका आउने सम्भावना रहेकाले शनिबार बिहान सर्वदलीय बैठक गरी मतगणना सुरू गरिने भएको छ।
सबै मतपेटिका उपत्यका नगर विकास समिति र जिल्ला समन्वय समितिका हलमा ल्याएर राख्ने योजना रहेको भट्टराईले जानकारी दिए ।नगर विकास समितिका २ र जिससका ३ ठाउँमा मत पेटिका राखेर गन्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
पोखरा महानगरको मतगणनाका लागि ८ देखि १० ठाउँ बनाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृत निलप्रसाद पनेरुले जानकारी दिए। मतगणना छिटो छरितो गर्न धेरै ठाउँमा मतगणना गर्ने तयारी गरेको उनको भनाई छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको पोखरा उपत्यका नगर विकास समितिको कार्यालय र जिल्ला समन्वय समितिको हलमा मतपेटिका संकलन र मतगणना स्थल बनाएको छ। मतगणना स्थललाई सुरक्षित बनाउन तारजाली लगाउनुका साथै सिसिटिभी क्यामेरा जडान गरेको पनेरुले जानकारी दिए ।
पोखराको मेयरमा एमालेबाट कृष्ण थापा, नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्यसहित २३ जनाले उम्मेदवारी दिएका छन्।





