दमौलीमा मेयरका उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण


दमौली । तनहुँको व्यास नगरपालिका वडा नम्बर ८ रिस्तीमा मेयरका उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भएको छ। मतदानस्थलमा आफ्नो प्रतिनिधि खोज्ने क्रममा विवाद उत्पन्न भएको थियो। मतदानस्थलमै मतपत्र च्यातेपछि जोशी समूह र कांग्रेस समूहबीच झडप भएको हो।
बहालवाला वडा अध्यक्ष ओझाराज पौडेलले भने कांग्रेस कार्यकर्ताहरूले जोशीमाथि आक्रमण नगरेको दाबी गरेका छन्। ‘एजेन्टको विषयलाई लिएर जोशीले एक्कासि मतपत्र च्याते। त्यसपछि झडप भएको हो’, उनले भने। तर आफूहरूको समूहले भने नगरेको उनको दाबी छ।
दीपक गोविन्दराज जोशीको छोरा हुन्। उनी स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिएका हुन्। उनलाई एमालेको समर्थन छ। एजेन्टको विषयमा बुझ्दा आफूमाथि आक्रमण भएको उनले बताएका छन्।
आक्रमणपछि सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गर्दै उनले भनेका छन्,‘हामी हाम्रो एजेन्ट किन छैन भन्दै मतदान अधिकृतसँग सोध्दा ममाथि हमला गरियो। यहाँ गुन्डाहरू ल्याएर राखिएको रहेछ।’





