काभ्रेमा स्थगित मतदानमध्ये तीन मतदान केन्द्रमा पुनः मतदान सुरु


बनेपा, वैशाख ३० गते । राजनीतिक दलहरुबीच भएको विवादका कारण मतदान स्थगित भएका काभ्रेका चार मतदान केन्द्रमध्ये तीन मतदान केन्द्रमा पुनः मतदान सुरु भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय काभ्रेका अनुसार स्थानीय स्तरमा रहेका राजनीतिक दलहरुबीच सहमति भएपछि तीन मतदान केन्द्रमा निर्वाचन सुरु भएको हो ।काभ्रेमा मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले राजनीतिक दलहरुबीच सामान्य कुरामा भएको विवादका कारण रोकिएका तीन मतदान केन्द्रमा मतदान पुनः सुरु भएको बताउनुभयो ।
उहाँले जिल्लाको चौरीदेउराली गाउँपालिका–६ स्थित प्रभा उच्च मावि, तेमालको वडा नम्बर–७ स्थित भुमेश्वर आधारभूत विद्यालय र तेमालकै वडा नम्बर–९ स्थित कालिका आधारभूत विद्यालय मतदान केन्द्रमा स्थगित भएको मतदान पुनः सुरु भएको बताउनुभयो । उहाँले विवादका कारण मतदान स्थगित भएको पाँचखाल नगरपालिका–१३ स्थित श्रीराम मावि केन्द्रमा स्थगित भएको मतदान भने सुरु हुन नसकेको बताउनुभयो ।
एक राजनीतिक दलले अर्कोलाई दोषारोपण गरेका कारण दलहरुबीच छलफल हुन नसकेको बताउनुभयो ।
उहाँले मतदान सुचारु गर्ने प्रयास भइरहेपनि यदि सुचारु हुन नसकेको खण्डमा मतदानको अर्को मिति समेत तोक्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो । उहाँले पाँच बजेभित्र मतदान केन्द्र परिसरमा प्रवेश गरेका मतदाताले ढुक्क भएर मतदान गर्न पाउने बताउनुभयो ।





