देश

    भरतपुरको मतगणनास्थलमा आठवटा सिसि क्यामरा र फलामको बार

    नवलपुर टुडे
    २०७९ बैशाख २९ | मध्यान्ह ०२:०१ बजे

      २९ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणनास्थलमा सिसि क्यामेरा र फलामको तारजाली लगाइएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचको मतगणना गर्ने ठाउँमा मतको सुरक्षाका लागि आठवटा सिसि क्यामरा र फलामको तारजाली लगाइएको मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी पुरूषोत्तम पौडेलले जानकारी दिए ।

      भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धन र विपक्षी दलले प्रतिष्ठाको विषय बनाएका छन् । चितवन उद्योग संघभित्र रहेको औद्योगिक प्रदर्शनी केन्द्रमा यसपटक मतगणना गर्ने व्यवस्था मिलाइएको छ । प्रदर्शनी केन्द्रको ‘सी’ ब्लकमा मतगणना गर्ने ठाउँ बनाइएको छ । २०७४ सालमा भरतपुर कभर्ड हलमा गरिएको मतगणनालाई आयोगले यसपटक प्रदर्शनी केन्द्रमा सारेको हो ।

      उम्मेदवारका प्रतिनिधिले मतगणना गरेको हेर्न मिल्ने गरी फलामको बारमा जाली हालिने सूचना अधिकारी पौडेलले जानकारी दिए । उनका अनुसार गणनास्थलमा चौविसै घण्टा विद्युत र इन्टरनेटको सुविधा उपलब्ध हुनेछ । मतगणना हुने ब्लकको उत्तरतर्फको प्यासेजमा मतपत्र ल्याएर राखिनेछ । मतपत्र राखिएको प्यासेजको पछाडिपट्टि मतगणना गर्ने कर्मचारीले मात्रै प्रयोग गर्ने पाउने शौचालय रहेको पौडेलले जानकारी दिए ।

      ०७४ सालको मतगणनामा तत्कालिन मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने पिसाब गर्न शौचालय गएको बेला मतपत्र च्यातिएको थियो । दलका प्रतिनिधिका लागि मतगणना स्थलबाहिर छुट्टै शौचालयको व्यवस्था गरिएको छ । मतगणना हुने ब्लकको पश्चिमतिरको एउटा कोठामा पत्रकार बस्ने व्यवस्था गरिएको छ । पत्रकारले मुख्य गेटबाट फोटो र भिडियो लिनसक्ने सूचना अधिकारी पौडेलले बताए ।

      मतगणना स्थलको सुरक्षाका लागि तीन तहको सुरक्षा व्यवस्था गरिएको र पर्याप्त सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए । भरतपुरको मतगणनाको नतिजा जेठ ५ गतेसम्म आउने अनुमान छ । २९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार ७५२ मतदाता छन् । महानगरमा ६५ मतदानस्थल र २०२ वटा मतदान केन्द्र रहेका छन् ।

        कमेन्टहरु