पक्राउ परेकी नेकपा एमालेका मेयर उम्मेदवारकी श्रीमती आफन्तको जिम्मा लगाईयो


बुटवल, बैशाख २८ । मौन अबधिमा सुकुम्बासी बस्तीमा शंकास्पद अवस्थामा भेटिएर पक्राउ परेकी नेकपा एमाले बुटवल मेयर उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराईलाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ।
एमाले उम्मेदवारकी श्रीमती माया मौन अवधिका बेला बुटवल–११ को सुकुम्बासी बस्तीमा फेला परेपछि स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपछि प्रहरीले आफन्तलाई बुझाएको हो। मौन अवधिका बेला माया सुकुम्बासी बस्तीमा भेटिएपछि नेपाली कांग्रेसका कार्यकर्ताले मतदाता प्रभावित बनाउन आएको भन्दै नाराबाजी गरेका थिए। नाराबाजीका बेला माया वडा नं-११ मजुवाटोलस्थित सिर्जना भुसालको घरमा लुकेर बसेकी थिइन्।
यसपछि जनपद र सशस्त्र प्रहरीको टोलीले उनलाई पक्राउ गरिएको थियो । एमाले र सत्ता गठबन्धनका प्रतिनिधिलाई राखेर भट्टराईलाई आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले नवलपुर टुडेलाई बताए। उनका अनुसार तीनजना महिला मजुवा पुगेपछि कांग्रेस कार्यकर्ताले प्रहरीलाई खबर गरेका थिए। प्रहरीलाई बोलाएको थाहा पाएपछि भट्टराई छेवैमा रहेको सिर्जनाको घरमा भित्रबाट चुक्कुल लगाएर बसेको डिएसपी केसीले बताए।
प्रहरीका अनुसार घरधनी सिर्जनाले घरमा ताला लगाएर चाबी हराएको भन्दै प्रहरी पुगेको एक घण्टासम्म ढोका खोल्न आलटाल गरेकी थिइन्। कांग्रेस कार्यकर्ताले पैसा बाँड्न गएको आरोप लगाएपनि पैसा भने भेटिएको छैन। तर, मतदाता नम्बर, नाम र ठेगाना उल्लेख गरिएको कागज भने भेटिएको छ । मायाले भने कांग्रेस कार्यकर्ताको आरोपको खण्डन गर्दै आफू बिरामी भेट्न गएको दाबी गरेकी छन्।
मायाले विज्ञप्ति प्रकाशित गर्दै आफू मानविय नाताले कपिलवस्तुका एमाले नेता महेन्द्र अर्यालकी क्यान्सर पीडित श्रीमती लिला अर्याललाई भेट्न गए उल्लेख गरेकी छन्। बिरामी भेट्न गएको बेला आफूलाई कांग्रेस कार्यकर्ताले घेराउ गरेको उनको दाबी छ। सामान्य विषयलाई मानवीय संवेदनासमेत नबुझी अनावश्यक प्रपोगन्डा गरिएकोमा आफूलाई दुःख लागेको विज्ञप्तिमा लेखिएको छ।
‘मेरो श्रीमान बाबुराम भट्टराई बुटवल उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवार हुनुहुन्छ, के यसको कारणले मलाई बिरामीलाई भेट्ने र आफन्तीसँग बोल्ने छुट पनि हुँदैन?’ उनले विज्ञप्ति मार्फत प्रश्न गरेकी छन्।
यसैबीच बुधबार बिहानै बुटवल वडा-११ को तिलोत्तमानगर टोलमा मौन अवधिकै बेला एमाले समर्थित महिलाले नमूना मतपत्र लिएर घरघरमा गई मतदाता प्रभावित गरेको फेला परेको छ। यसपछि स्थानीय युवाको टोलीले नमूना मतपत्र र छाप (स्ट्याम्प) खोसेर अस्थायी प्रहरी चौकी देवीनगरमा बुझाइदिएका छन्।
एमाले कार्यकर्ताको साथबाट युवाहरुले करिब ५० वटा नमूना मतपत्रको बण्डल खोसेर प्रहरीलाई बुझाएको अस्थायी प्रहरी चौकी देवीनगरले पुष्टि गरेको छ। बुटवल-११ नगरमा सबैभन्दा धेरै सुकुम्बासी तथा अव्यवस्थित बसोबास भएको क्षेत्र हो। यो वडामा मात्र १७ हजार मतदाता छन्।





