देश

    नवलपरासीमा मौन अवधिमा मदिरा विक्रि वितरण र सेवन गर्न निषेध

    नवलपुर टुडे
    २०७९ बैशाख २८ | मध्यान्ह ०४:०१ बजे

      नवलपरासी । स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दे पश्चिम नवलपरासीमा मौन अवधिको समयमा मदिरा विक्रि वितरण र सेवन गर्न निषेध गरिएको छ । आईतबार एक सुचना जारी गर्दे जिल्ला प्रशासन कार्यालयले मंगलबार राति १२ देखि ३० गते मतदान नसकिदासम्म मदिरा बेच्न, सेवन गर्न रोक लगाईएको हो ।

      मौन अवधिमा सबैभन्दा बढि मदिरा विक्रि हुने र त्यसले निर्वाचन सुरक्षामा असर गर्न सक्ने भएकाले मदिरा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नवलपुर टुडेलाई जानकारी दिनुभयो ।

      स्थानिय तहको निर्वाचन निर्देशिका २०७८ को दफा ७१ बमोजिम यस्तो निषेध गरिएको छ । यसलाई अवज्ञा गरे प्रचलित कानुन अनुसार कारवाहि हुने प्रशासनले जनाएको छ । नवलपरासीमा मतदातालाई मदिरा दिने क्रम सुरु भईसकेको छ । विभिन्न स्थानमा मदिरा स्टक गरेर मौन अवधिमा बढि बाड्ने गरिएको पाईएको छ ।

      यस्तै प्रशासनले मतदानको दिन बैशाख ३० गते शववहान, एम्बुलेन्स, दमकल, अस्पतालका सवारी बाहेक अन्य सवारी साधन बन्द हुने जानकारी दिएको छ । निजि तथा सार्वजनिक सबै सवारी साधन निर्वाचन सुरक्षालाई मध्यनजर गर्दे संञ्चालन गर्न निषेध गरिएको छ । उम्मेद्धार लगायत संञ्चारकर्मीले अनुमति पाएका सवारी साधन मात्र संञ्चालन गर्न सक्ने छन् ।

        कमेन्टहरु