मुख्य समाचार

    मनाङमा निर्वाचनको दिनमा पनि पर्यटकले प्रवेश पाउने

    नवलपुर टुडे
    २०७९ बैशाख २८ | मध्यान्ह १२:०१ बजे

      मनाङ, बैशाख २८ । यही शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका लागि हरेक क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । आन्तरिक तथा बाह्य पर्यटनमा समेत यो नियम लागु भएको छ । यद्यपि, हिमाली जिल्ला मनाङमा भने यस दिन बाह्य पर्यटकले प्रवेश पाउने भएका छन् ।

      निश्चित समय तोकिएर नेपाल भ्रमणमा आएका विदेशी पर्यटकलाई सहज बनाउने उद्देश्यले प्रवेश खुला गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । पर्यटन बोर्डबाट भ्रमणको आधिकारिक अनुमतिपत्र तथा रुट परमिट लिएर आएका पर्यटकलाई मनाङमा प्रवेश दिइने प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

      “पर्यटक आउने अनुकूल समय भएकाले नेपाल सरकारले नै पर्यटकलाई प्रवेश दिन सर्कुलर गरेको छ । सोहीबमोजिम मौन अवधिमा सवारीमार्फत पर्यटक मनाङ आउन सक्नेछन् । तर, निर्वाचनको दिनमा सवारी सञ्चालनमा रोक लगाइएको छ । पैदलयात्रामा आउने पर्यटकले निर्वाचनकै दिनमा पनि प्रवेश पाउनेछन्,” आचार्यले भने ।

      विशेषगरी, विदेशी पर्यटकहरू विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल (४,९१९ मिटर) हेर्न आउने गरेका छन् । पर्यटकहरू अन्नपूर्ण पदमार्गको यात्रामार्फत हिमालको काखमा पुगेर मनोरञ्जन लिनुका साथै थोराङ्ला पास हुँदै तिलिचो ताल, पुगेर त्यहाँका सुन्दर स्थानहरूबाट मनोरञ्जन लिने गर्दछन् । रासस

        कमेन्टहरु