देश

    निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी

    नवलपुर टुडे
    २०७९ बैशाख २८ | बिहान ०८:०१ बजे

      दमौली । तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लामा निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको बताएका छन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन प्रशासन प्रतिबद्ध रहेको अर्यालले बताए।

      अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको कार्यालयले मङ्गलबार जिल्लाको मानवअधिकारको अवस्था र निर्वाचनपूर्व अनुगमनको क्रममा प्रजिअ अर्यालले नेपाली सेनाको कमाण्डमा चारवटै सुरक्षा निकाय प्रभावकारीरूपमा परिचालन भइरहेको बताए। राजनीतिक दलहरूको पटक–पटक बैठक राखेर निर्वाचन आचारसंहिताको प्रभावकारी पालनाका लागि जोड दिइएको र निर्वाचन आचारसंहिता उल्लङ्घन भएको देखिए त्यस्तो अवस्थामा सम्बन्धितलाई सचेत गराइएको उनले बताए।

      निर्वाचनलाई भयरहित, स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सुरक्षा निकाय, कर्मचारी, राजनीतिक दल सबै प्रतिबद्ध रहेको उनले बताए। स्थानीय विशेष सुरक्षा व्यवस्था गरी निर्वाचन कार्यालय, उम्मेदवार, निर्वाचन सामग्री, दलको प्रचारप्रसार, मतदान सुरक्षा, मतदान केन्द्र सुरक्षा गरी तीन तहमा सुरक्षा प्रबन्ध गरिएको उनको भनाइ छ। रासस

        कमेन्टहरु