समाचार

    खाेटाङ र उदयपुर जाेड्ने फोक्सिङटारको अस्थायी बेलिब्रिज ८ जेठबाट खोलिने

    नवलपुर टुडे
    २०७९ बैशाख २७ | मध्यान्ह १२:०१ बजे

      खोटाङ, बैशाख २७ । खोटाङ र उदयपुरको सिमाना फोक्सिङटारस्थित सुनकोशी नदिमाथि जडान गरिएको अस्थायी बेलिब्रिज खोलिने भएको छ । आउँदो जेठ ८ गतेदेखि बेलिब्रिज खोल्न सुरु गरिनेछ ।

      सगरमाथा गाईघाट–दिक्तेल सडकखण्ड अन्तर्गत खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आपटारको सिमानामा पर्ने फोक्सिङटारको सुनकोशी नदिमाथि जडान गरिएको ५० मिटरको बेलिब्रिज रेग्मी–भानुमति–चौधरी जेभीले खोल्नेछ । सडक विभागको ७८ लाख बजेटमा गत पुस १ गते सोही जेभीले बेलिब्रिज जडान गरेको थियो ।

      गत वर्ष ८४ लाख खर्चेर रेग्मी निर्माण सेवाले बेलिब्रिज जोड्ने र फुकाल्ने काम गरेको दिक्तेल गाईघाट सडक विभागका योजना प्रमुख ईन्जिनियर गोपाल प्रसाद खकुरेलले बताए । त्यहाँ बेलिब्रिज जडान भएपछि ६ महिना सो रुटबाट उदयपुरको गाईघाट हुंदै तराईसम्मको सीधा यातायात सेवा सञ्चालन हुन्छ भने, बेलिब्रिज निकालेपछि ६ महिना दिक्तेलबाट घुर्मी–कटारी–मिर्चैया हुंदै तराई जानुपर्ने बाध्यता छ ।

      दिक्तेलबाट उदयपुर हुंदै तराई आवतजावत गर्ने सबैभन्दा छोटो रुटमा पर्ने फोक्सिङटारस्थित सुनकोशी नदिमा ९ वर्षअघि ठेक्का लागेको मोटरेबल पुलको कामले यतिबेला भने रफ्तार लिएपछि अब फेरी बेलिब्रिज जडान गर्नु नपर्ने अनुमान गरिएको छ ।

      नदीको अफ्ठ्यारो कामहरु सकिएको छ । योजना प्रमुख ईन्जिनियर खकुरेलल भने, ‘पुलको काम धमाधम भईरहेको कारणले अबको पटक बेलिब्रिज राख्नु नपर्नेे देखिन्छ ।’

      सडक विभागको १९ करोड ६० लाख ९ हजार ९४१ रुपैयाँ लगानीमा गौरी पार्वती–वाईपी जेभीले २०७३ चैत २२ गतेदेखि सुनकोशी नदिमाथि १ सय २० मिटर लामो आर्च ब्रिज डिजाईनको मोटरेबल पुल निर्माण गरिरहेको छ । हालसम्म पुलको काममा ८५ % प्रगती भएको जेभीका सञ्चालक रामकुमार थापाले दाबि गरे ।

      हप्ता दिनमा एप्रोच रोड तयार हुनेछ । असारको १५/१६ मा पुलको आर्च स्ल्याप ढलान गर्ने योजना छ । थापाले भने, ‘ढलान गरेको २१ दिनपछि गाडी गुडाउँछौ संम्भवतः साउन १५ गतेदेखि गाडी गुड्छ।’

        कमेन्टहरु