स्थानीय तह निर्वाचन : बाँके र बर्दियाको सीमा-नाका आज मध्यरातिदेखि बन्द


बर्दिया, वैशाख २७ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँके र बर्दियाको नेपाल-भारत सीमा-नाका आज रातिदेखि बन्द हुने भएको छ । भारतसँग जोडिएका बाँके र बर्दियाका सीमा-नाका ७२ घण्टाका लागि बन्द गर्न लागिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।
यही शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि भन्दै आज राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि नेपाल-भारत सीमा-नाका बन्द गरिने प्रजिअ खत्रीले बताए । यसअघि खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको थियो ।
दुई पक्षीय बैठकले निर्वाचनको ४८ घण्टा अघि दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा रोक लगाउने निर्णय भएको थियो । बाँके जिल्लासँग भारतको सीमा जोडिएको क्षेत्र ६५ किलोमिटर पर्छ भने बर्दियाको ८२ किलोमिटर पर्छ । रासस





