देश

    आजदेखि राष्ट्रिय कृषि गणना सुरु

    नवलपुर टुडे
    २०७९ बैशाख ६ | बिहान १०:०१ बजे

      धर्मेन्द्र कुमार कुर्मी
      विजयनगर । कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ मूल नाराका साथ केन्द्रीय तथ्याङ्क विभागले मङ्गलबारदेखि सातौँ राष्ट्रिय कृषि गणना सुरु हुँदैछ । वैशाख ६ देखि जेठ १९ गतेसम्म ७७ जिल्लाका तीन लाख घरपरिवारमा सो गणना गरिने विभागले जनाएको छ ।

      विभागका उपमहानिर्देशक हेमराज रेग्मीका अनुसार २०७८ को जनगणना गर्दा ६८ लाख घरपरिवारसँग खेतीयोग्य जमिन छ कि छैन र पशुपन्छी पालिन्छ कि पालिँदैन भनी दुईवटा प्रश्न सोधिएको थियो । तीमध्ये ४१ लाख घरपरिवारले खेतीयोग्य जग्गा जमिन रहेको र पशुपन्छी पनि पालन गरेको भनी जवाफ दिएका थिए । ती ४१ लाखमध्ये ‘सेम्प्लिङ’ गरी तीन लाख घरपरिवारसँग कृषि गणना गर्न लागिएको उपमहानिर्देशक रेग्मीले बताउनुभयो ।

      कृषि गणनाका लागि पाँच हजार दुई सय गणक र एक हजार तीन हजार सुपरिवेक्षक खटाइएको उहाँले जानकारी दिनुभयो । उहाँहरू आ–आफ्नो कार्यक्षेत्रमा पुगिसकेको उहाँले बताउनुभयो । प्रत्येक १०/१० वर्षमा गरिने कृषि गणना यसअघि २०६८ मा गरिएको थियो । सबै जिल्लामा गरिएको कृषि गणना दुई चरणमा भएको थियो । त्यतिबेला ३८ लाख ३१ हजार ९३ कृषक घरपरिवार र ती परिवारसँग २५ लाख २५ हजार ६३९.२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको नतिजा निकालेको थियो ।

      २०६८ को कृषि गणनाअनुसार एक लाख १६ हजारसँग आफ्नै जमिन छैन भने ७१ प्रतिशत जनता पूर्णकालीन कृषक रहेकामा ८३ प्रतिशत जनता कृषि पेसामा आत्मनिर्भर रहेको उल्लेख छन् । ४२ प्रतिशत कृषकले कृषि ऋण पाउन सकेका छैनन् ।

      वि.सं. २०१८ देखि केन्द्रीय तथ्याङ्क विभागले हरेक प्रत्येक १०÷१० वर्षमा राष्ट्रिय कृषि गणना सञ्चालन गर्दै आइरहेको छ । ७५३ स्थानीय तहमा वैज्ञानिक विधिले छनोट गरिएका कृषक परिवारसँग व्यक्तिगत अन्तर्वार्ताद्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिने विभागले जनाएको छ । यस गणनाअन्तर्गत पारिवारिक, व्यावसायिक तथा संस्थागत रूपमा सञ्चालन भइरहेका कृषिकार्यको विवरण सङ्कलन गरिनेछन् ।

      कृषि गणनामा खटिएका सुपरिवेक्षकले सम्बन्धित नगरपालिका, गाउँपालिकाको मेयर, अध्यक्ष, वडाध्यक्ष र वडा सदस्यसँग समन्वय गर्नुपर्ने विभागले जनाएको छ । त्यहाँका प्रतिनिधिसँग गणनामा सहयोग गर्न आग्रह गर्नुपर्छ । विगतका कृषि गणनाको अनुभवबाट सम्बन्धित पालिकाको पदाधिकारीले अनुरोध गरेको अवस्थामा कृषकले सहयोग गर्ने र अन्तर्वार्ता सञ्चालन गर्न सजिलो हुने भएकाले प्रतिनिधिसँग समन्वय तथा छलफल गर्न विभागले सुपरिवेक्षकलाई निर्देशन दिएको छ ।

      जिल्लामा जनप्रतिनिधि तथा प्रशासनिक पदाधिकारीसँग गणनबारे छलफल गर्ने तथा सहयोग माग्ने जिम्मा प्रमुख जिल्ला कृषि गणना अधिकृतको हुने भनिएको छ । गणकहरूले आफ्नो काम सकेर फिर्ता ल्याएका प्रश्नावलीको अध्ययन गरी ठीक भएका फाराम जिल्ला कृषि गणना कार्यालयसम्म सुरक्षित पु¥याउने जिम्मेवारी पाएका सुपरिवेक्षकलाई सम्बन्धित गणकले समेत सहयोग गर्नुपर्ने हुन्छ ।

        कमेन्टहरु