गैँडाकोटमा भएको छात्रा दुर्व्यवहार प्रकरणमा पीडित पक्षद्वारा किटानी जाहेरीको तयारी


नवलपरासी, बैशाख ५ । नवलपुरको गैँडाकोटस्थित जनक माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रालाई विद्यालयका शिक्षकले दुर्व्यवहार गरेको भनिएको घटनामा पीडित पक्षले किटानी जाहेरी दिन लागेका छन् ।
कक्षा १२ मा अध्ययनरत छात्रालाई सोही विद्यालयमा कम्प्युटर पढाउने शिक्षक कपिल घिमिरेले ‘अस्लिल भिडियो’ देखाएर यौन दुर्व्यवहार गर्न खोजेको घटना हिजो बाहिर आएको थियो । सोही विषयमा भएको विवादका क्रममा आक्रोशित विद्यार्थीले तोडफोड नै गरेका थिए । घटनाका विषयमा आज भने पीडित पक्षले शिक्षक विरुद्ध किटानी जाहेरी दिने तयारी गरेको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का डिएसपी सन्तोष पाठकले पीडित पक्षले आज किटानी जाहेरी दिन लागेको बताए । उनकाअनुसार आइतबार नै प्रहरीले आरोपीलाई पक्राउ गरेको थियो । आरोपितमाथि अनुसन्धान भइरहेको डीएसपी पाठकले बताए । हिजो भएको तोडफोडमा इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक सहित १० जना प्रहरी समेत घाइते भएका थिए ।
घटना केही दिनअघिको भएपनि विद्यार्थीहरुले हिजो थाहा पाएपछि कारबाहीको माग गर्दै प्रदर्शन गरेको थियो । प्रधानाध्यापकले विद्यालयभित्रै घटना मिलाउन खोजेपछि विद्यार्थीहरु आक्रोशित हुँदै नाराबाजी गरेको थियो ।





