मुख्य समाचार

    गठबन्धन मुलुकको वर्तमान आवश्यकता हो : नेता सिंह

    नवलपुर टुडे
    २०७९ बैशाख ५ | मध्यान्ह १२:०१ बजे

      काठमाडौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन मुलुकको वर्तमान आवश्यकता भएको बताएका छन्। सामाखुसी यातायात प्रालिले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताएका हुन्।

      “वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदैछ। कार्यकर्ताको मन उच्च हुनेगरी गठबन्धन हुन्छ”, उनले भने। निर्वाचन केन्द्रित भएर लाग्न नेता सिंहले सबैलाई आग्रहसमेत गरेका छन्।

      नेता सिंहले मुलुकको अर्थतन्त्रमा यातायात व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यातायात व्यवसायीलाई राज्यले सम्मान गर्नुपर्ने बताए। उनले प्रजातान्त्रिक यातायात व्यवसायीले पार्टीको शुभेच्छुक संस्थाका रुपमा राखेको माग सम्बोधन गर्न आफू गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।

      कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले अब हुन लागेको स्थानीय तहको निर्वाचनमा सङ्गठनको भावनालाई केन्द्रमा राखेर गठबन्धन गरिने बताए। उनले राजनीतिक मुद्दा सम्पन्न भएको भन्दै अब विकास केन्द्रित अभियानमा लाग्नुपर्ने उल्लेख गरे।

      कांग्रेसका महाधिवेशन प्रतिनिधि सुशील भट्टले कांग्रेसले स्थानीय तहको निर्वाचनमा जनाधार हेरेर उम्मेदवार खडा गर्नुपर्ने बताए। उनले नेताभन्दा नीतिमुखी व्यक्तिलाई उम्मेदवारका रुपमा पार्टीले अगाडि बढाउनुपर्ने उल्लेख गरे। रासस

        कमेन्टहरु