स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु, पाँच जना घाइते

नवलपुर टुडे
२०७९ बैशाख ४ | मध्यान्ह १२:०१ बजे

स्याङ्जा, बैशाख ४ । स्याङ्जाको वालिङ नगरपालिका-१२ डाँडाखर्कमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । सो दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।
बिहान सवा १० बजेतिर डाँडाखर्कबाट वालिङका लागि छुटेको ग १ ज ७३९९ नम्बरको जीप सडकबाट पल्टिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिनुभयो ।
उनका अनुसार घाइतेहरुको उद्धार गरी गम्भीर अवस्थामा रहेका दुईजनालाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी कास्कीको गण्डकी अस्पताल रेफर गरिएको र अन्य तीन जनाको सोही स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको छ ।
जीपमा ११ जना सवार रहेको खुलेको छ । जीप अनियन्त्रित भई पल्टिएको हुन सक्ने प्रहरीको आशङ्का छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





