चुनावका लागि ७७ जिल्लामै खटाइयो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत


काठमाडौं, वैशाख ४ । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७७ जिल्लामै मुख्य निर्वाचन अधिकृत खटाएको छ । सात सय ५३ स्थानीय तहमध्ये छ सय ७६ तहमा निर्वाचन अधिकृतहरूलाई खटाइएको आयोगले जनाएको हो ।
सदरमुकाम रहेका स्थानीय तहको निर्वाचन हेर्ने जिम्मेवारी भने मुख्य निर्वाचन अधिकृतलाई नै दिइएको छ । आयोगले मुख्य र निर्वाचन अधिकृतलाई आवश्यक पर्ने प्रशिक्षण तालिम दिइसकेको छ । प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई कार्यक्षेत्रमा जान नियुक्ति पत्र दिइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
आयोगले जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृत बनाएको छ । वैशाख ८ गते सबै स्थानीय तहमा निर्वाचन अधिकृत कार्यालय खुल्नेछन् । अधिकृतको कार्यालय मातहत रहेर ९ जना कर्मचारीले चुनावसम्बन्धी काम गर्ने आयोगले जनाएको छ ।
वैशाख ३० मा हुने स्थानीय चुनावका लागि वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन गर्ने कार्यक्रम छ ।





