ललितपुरको प्युटार जंगलमा भीषण आगलागी, दर्जनौँ घरहरू जोखिममा


ललितपुर, बैशाख ३ । दक्षिण ललितपुरको प्युटार जंगलमा भीषण आगलागी भएको छ । आश्राङ प्रहरी चौकीका सहायक प्रहरी हवल्दार वेदनाथका अनुसार बिहीबार माझखण्डबाट सल्केको आगो तलतिर सर्दै गएको हो ।
आगलागीबाट प्युटार, लुकुनी र आश्राङ गाँउका दर्जनौँ घरहरु जोखिममा परेका छन् । शुक्रबारदेखि स्थानीय, प्रहरी र वनका कर्मचारीले आगो नियन्त्रणमा लिन प्रयास गरेतापनि सफल हुन सकेको छैन । प्रहरी सहायक हवल्दार वेदनाथका अनुसार निरन्तर ढुंगाहरु झरिरहेकाले आगो निभाउन जानसमेत समस्या छ ।
उनले भने, ‘रुखका स्याउलाले आगो निभाइरहेका छौँ । चारैतिर आगो र धुवाँको मुस्लो आइरहेकोले हामी अन्यौलमा छौं ।’ निरन्तर हावा चलिरहेकाले आगो नियन्त्रणमा समस्या भएको उनले बताए । आगो फैलँदा खैरेनी, प्युटार, धनडाँडा र फुर्केडाँडा गाउँमा २ सय ५० घरमा वितरण गरिएको खानेपानीको पाइप जलेर नष्ट भएको छ ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष उत्तमबहादुर लामाका अनुसार खानेपानीको पाइपको क्षतिबारे यसै भन्न सकिने अवस्था छैन ।





