मानिक दह मेलामा पानी अभाव, श्रद्धालु भक्तजन सास्ती


विनोद मण्डल
सिरहा । धार्मिक आस्थाको केन्द्रको रूपमा रहेको मिथिला मानिक दहको पानी सुकेले श्रद्धालु भक्तजनहरुले सास्ती भोग्नु पर्यो । लहान नगरपालिका – २४ मा रहेको धार्मिक आस्था दहको पानी सुकेको हो ।
प्रत्येक वर्ष वैशाख १ गते यस ठाउँमा विशेष मेला लाग्ने गर्दछ । बिहान पख लाग्ने मेलामा नेपाल लगायत भारतका विभिन्न ठाउँबाट भक्तजनहरूको आगवन यस ठाउँमा हुने गर्दछ । खासगरी मानिक दहमा स्नान गर्नाले सन्तानको प्राप्ति र घरमा शान्ति कायम हुने जनविश्वासले गर्दा यस ठाउँमा स्थानिय जिल्लाका विभिन्न ठाउँबाट स्नानको लागि ठूलो भीड लाग्ने गरेको छ ।
दुई ओटा दहको पानीको सतह घटेर दह बालुवामा परिणत हुँदै गर्दा यहाँका मेयर र वडा अध्यक्ष दह सम्बन्धनमा बेखवर हुनु चिन्ताको विषय बनेको छ ।दहको पश्चिम भागमा रहेको धार्मिक मन्दिरहरूको समेत मर्मत संहार नहुनु र पूर्वी दहमा रहेको मन्दिरको अवस्था जीर्ण बन्नुमा यहाँका स्थानीय निकाय दोषी देखिन्छ ।
पानीको अभावले स्नान गर्न आउने भक्तजनहरुले दूषित पानीले स्नान गर्नुपरेको बताए । धार्मिक सांस्कृतिक र पर्यटन क्षेत्रको रूपमा रहेको मानिक दहको वास्तविक स्वरूप जीर्ण बन्नुमा यहाँका स्थानिय जनता समेत मौन रहेको छ ।





