नयाँ वर्षमा बुटवलमा खाना महोत्सव हुने


बुटवल, चैत ३० । नयाँ वर्षको अवसरमा रुपन्देहीका होटल व्यवसायीहरुले सडक तथा पार्कमा खाना महोत्सव संचालन गर्ने भएका छन् । कोरोना महामारीका कारण व्यवसायीले गर्दै आएका यस्ता कार्यक्रम स्थगित भएका थिए ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा बुटवलको पर्यटकीयस्थल हिलपार्कमा तेस्रो बुटवल कला, संस्कृति तथा खाना महोत्सव – २०७९ गर्न लागिएको हो । यो महोत्सवबाट नेपाली संस्कृति र खानाका परिकारबारे ग्राहकलाई जानकारी दिनु मुख्य उद्देश्य रहेको अध्यक्ष रामप्रसाद गौतमले बताए । नुवाकोट क्षेत्रमा गर्ने तयारी भइरहेको कार्यक्रम विशेष कारणवस क्षेत्र सार्नुपरेको उनले जानकारी दिए ।
महोत्सवबाट नेपाली कला संस्कृतिको जगेर्नासंगै यस क्षेत्रमा रहेका पार्क र उद्यानहरुको समेत प्रचारप्रसार हुने अध्यक्ष गौतमले विश्वास व्यक्त गरे । महोत्सवमा १२ वटा विशेष स्टलहरुमा नेपाली खानाका परिकारहरु राखिने छन् । एक दिनमात्र चल्ने महोत्सवमा १० हजार दर्शकहरुले अवलोकन गर्ने र २५ लाख रुपैयाँ बराबरको कारोबार हुने आयोजकहरुको अनुमान छ ।
संघका महासचिव माधव खनालका अनुसार महोत्सव बिहान १० बजेदेखि साँझ ९ बजेसम्म संचालन हुने र महोत्सवको सुरक्षा व्यवस्थाको समेत राम्रो प्रबन्ध गरिएको छ । महोत्सवको दिन हिलपार्क क्षेत्रमा पर्यटकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । संघले वि.सं २०७५ मा पहिलो पटक खाना महोत्सव गरेको थियो ।





