मुख्य समाचार

    निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति दिइन् स्वीकृति

    नवलपुर टुडे
    २०७८ चैत्र २९ | मध्यान्ह ०६:१२ बजे

      काठमाडौ, चैत २९ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छन् ।

      नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले मंगलबार संविधानको धारा ६६ (२) अनुसार सुरक्षा परिषद्‌ र मन्त्रिपरिषद्‌को सिफारिसमा स्थानीय तह निर्वाचनमा सेना परिचालनको स्वीकृत दिएकी हुन् ।

      राष्ट्रिय सुरक्षा परिषदले गत चैत १७ मा स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजनाअन्तर्गत सबै सुरक्षा निकाय एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

      यस्तै चैत २४ गतेको मन्त्रिपरिषद बैठकले पनि सेना परिचालनका लागि स्वीकृति प्रदान गर्न राष्ट्रपतिसँग सिफारिस गरेको थियो । निर्वाचनमा मतपत्रको सुरक्षा, मतपत्र छपाई र ढुवानीको सुरक्षा जिम्मा पनि सेनालाई दिइएको छ ।

      यस्तै विमानस्थल, कारागार लगायत महत्वपूर्ण कार्यालयको सुरक्षा जिम्मा पनि सेनालाई दिएर नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्वाचनमा खटाउने योजना छ ।

        कमेन्टहरु