राष्ट्र बैंकका गभर्नरको निलम्बन कानूनसम्मत छ : अर्थमन्त्री शर्मा


काठमाडौं, चैत २८ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको निलम्बन कानूनसम्मत भएको बताएका छन् ।
सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले गभर्नरमाथि छानबिन गर्न कानूनबमोजिम कमिटी बनाएको बताउदै एक महिनाभित्र सबै कुरा आउने बताए । कार्यक्रममा अर्थमन्त्री शर्माले निलम्बित गभर्नर अधिकारीप्रति विभिन्न असन्तुष्टिसमेत व्यक्त गरेका थिए ।
उनले अनुत्पादक क्षेत्रको कर्जा प्रवाह राष्ट्र बैंकले नियन्त्रण गर्न नसकेको आरोप लगाए । यसले आयात वृद्धि भएको तर उत्पादन नबढेको उनको भनाइ छ । शर्माले भने, ‘यति ठूलो कर्जा प्रवाह भएपछि केही न केही देशका लागि योगदान गर्नुपर्थ्यो । तर, ऋण र उत्पादन क्षेत्रको तालमेल मिलेको देखिएन ।’
आफूले बारम्बार यत्रो पसा कहाँ लगानी भएको छ भनेर चासो राख्दा पनि जवाफ नपाएको उनले बताए । ‘कहाँ–कहाँ लगानी हुन्छ भनेर खोज्ने प्रयास गर्दा जवाफ पाएनौँ । मैले सुरुदेखि यसलाई कसरी कन्ट्रोल गर्ने भनेर सल्लाहकारको हिसाबले राष्ट्र बैंकसँग कुरा गर्दै आएको हो,’ शर्माले भने ।
आफूले अनावश्यक हस्तक्षेप गरेको नभई नेतृत्वदायी भूमिका निभाएको मन्त्री शर्माले बताए ।





