मगर युवा संघ बुटवलद्धारा केपी ओलीको पुत्ला दहन


बुटवल, चैत २३ । नेपाल मगर युवा संघ बुटवलले नेकपा एमालेका अध्यक्ष केपी ओलीको पुत्ला दहन गरेको छ । प्रथम सहिद लखन थापा नभएर वाकाविर भएको सार्वजनिक अभिव्यक्ति दिएको भन्दै त्यसको विरोधमा बुटवलको चौराहास्थित लखन थापा चोकमा ओलीको पुत्ला दहन गरिएको हो ।
नेपाल मगर युवा संघ बुटवलले ओलीको अभिव्यक्तिले प्रथम सहिद लखन थापाको अपमान भएको भन्दै पुत्ला दहन गरेको हो । यस अगाडी नेपाल मगर संघ रुपन्देहीले मंगलबार पत्रकार सम्मेलन गर्दै संघले ओलीको उक्त अभिव्यक्ति फिर्ताको मागसमेत गरेको थियो। बुटवलको राजमार्ग चौराहामा पुत्ला दहन गर्नुअघि आयोजित विरोधसभामा ओलीविरुद्ध नाराबाजीसमेत भएको थियो।
मगर संघ लुम्बिनी प्रदेश उपाध्यक्ष धनी आलेले प्रथम सहिद क्याप्टेन लखन थापाको अपमान गरेर इतिहासमा नभएका पात्रलाई अगाडि सारेर ओलीले भ्रम छरेको आरोप लगाउनुभयो। सभामा मगर संघ रुपन्देही सचिव थर्कबहादुर बाह्रघरे, सोनु थापा लगायतले ओलीले आफ्नो अभिव्यक्ति फिर्ता लिई माफी नमागेसम्म चरणवद्ध आन्दोलन जारी रहने बताउनु भयो।
२०७२ असोज ३ गते तत्कालीन मन्त्रिपरिषदले निर्णय गरी लखन थापा मगरलाई नेपालको प्रथम सहिद घोषणा गरेको थियो। तथ्य र इतिहासलाई खण्डन गर्ने गरी ओलीले दिएको अभिव्यक्तिले थापा र आम मगर समुदायको अपमान गरेको मगर संघले ठहर गरेको छ। यसअघि नेपाल मगर संघ केन्द्रीय कार्यालयले ओलीको अभिव्यक्ति विरुद्ध बिज्ञप्ती जारी गरिएको थियो ।





