गण्डकी प्रदेश

    पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न नवलपुर जिल्ला अदालतको आदेश

    नवलपुर टुडे
    २०७८ चैत्र २३ | मध्यान्ह ०९:१२ बजे

      नवलपुर, चैत २३ । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन नवलपुर जिल्ला अदालतले आदेश दिएको छ ।

      शाहविरुद्ध बुधबार थुनछेक बहस भएको थियो । थुनछेक बहसका क्रममा शाहका पक्षबाट ९ जना वकिलले बहस गरेका थिए भने पीडित किशोरीको पक्षबाट तीन जना सरकारी वकिलले बहस गरेको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए । शाहलाई बुधबार नै तनहुँ कारागार पठाइने भएको छ ।

      अभिनेता शाहका तर्फबाट वरिष्ठ अधिवक्ता वेदुनाथ खनाल र कमलामोहन वाग्ले, अधिवक्ता गणेशप्रसाद अधिकारी, भानुभक्त सुवेदी, जनकराज ढुंगाना, चेतनारायण भुसाल, मिलनध्वज शाही, माधव घिमिरे र बालकृष्ण गैरेले बहस गरेका थिए । उनीहरूले शाहमाथि झुटो आरोप लगाई फसाउने नियत लिएको तर्क पेस गरेका छन् ।

      यस्तै, पीडित किशोरीको तर्फबाट सरकारी वकिल कमल पन्थी, डालबहादुर नेपाली र बुद्धबहादुर थापाले बहस गरेका थिए । उनीहरूले शाहविरुद्ध कडा सजाय माग गरेका छन् । किशोरीको मागबमोजिम १२ देखि १४ वर्षसम्म कैद सजाय हुनुपर्ने उनीहरूको माग छ ।

      जिल्ला प्रहरी कार्यालय तनहुँ हिरासतमा रहेका शाहलाई मंगलबार जिल्ला अदालत नवलपुरमा ल्याएर बयान लिइएको हो । पीडित किशोरीले फागुन ११ गते दिएको किटानी जाहेरीका आधारमा तनहुँ प्रहरीले शाहलाई फागुन १५ गते पक्राउ गरेको थियो । किशोरीले सुरुमा तनहुँ प्रहरीमा र पछि गौंडाकोट प्रहरीमा जाहेरी दिएकी थिइन् ।

      पीडित किशोरीले आफूमाथि शाहले एक वर्षअघि बलात्कार गरेको आरोप लगाउँदै तनहुँ र पूर्वी नवलपरासीमा मुद्दा दर्ता गराएकी हुन् । पीडितको जाहेरीका आधारमा शाहविरुद्ध नवलपुर अदालतमा चैत ३ गते मुद्दा दर्ता भएको थियो ।

        कमेन्टहरु